वार्षिक समीक्षा बैठक सम्पन्न
मिति २०८३ साल असार १७ गते मध्यपश्चिम विश्वविद्यालय, वीरेन्द्रनगर, सुर्खेतको केन्द्रीय कार्यालयस्थित सभाहलमा वार्षिक समीक्षा बैठक सम्पन्न भएको छ।
विश्वविद्यालयका उपकुलपति तथा कार्यक्रमका अध्यक्ष प्रा. डा. नारायण प्रसाद पौडेलज्यूले विश्वविद्यालयका प्रमुख गतिविधिहरूको समीक्षा गर्दै आगामी दिनमा विश्वविद्यालयको समग्र उन्नयन, गुणस्तरीय शैक्षिक वातावरण निर्माण, अनुसन्धान प्रवर्द्धन तथा संस्थागत विकासका लागि सबै पदाधिकारी, प्राध्यापक तथा कर्मचारीहरूले आफ्नो-आफ्नो जिम्मेवारीका क्षेत्रबाट सक्रिय एवं सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार सह-प्रा. डा. अर्जुन बहादुर अयडीज्यूले विषय प्रवेशसहित स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। साथै, कार्यक्रममा उपस्थित पदाधिकारी, प्राध्यापक तथा कर्मचारीहरू मध्येबाट प्रतिनिधिमूलक रूपमा विश्वविद्यालयका उपलब्धि, चुनौती तथा सुधारका सम्भावनाबारे समीक्षात्मक धारणा प्रस्तुत गर्नुभएको थियो।
भौतिक तथा अनलाइन दुवै माध्यमबाट सम्पन्न उक्त कार्यक्रममा विभिन्न ग्राजुएट स्कुलका डिन, कार्यकारी निर्देशक, विभागीय प्रमुख तथा संयोजक, आङ्गिक क्याम्पसका क्याम्पस प्रमुख, प्राध्यापक, कर्मचारी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो भने कार्यक्रमको संयोजन तथा सञ्चालन योजना, विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काज्यूले गर्नुभएको थियो।