Skip to main content
मध्यपश्चिम विश्वविद्यालयमा व्यवसाय उद्यमशीलता विकास कार्यक्रमको समीक्षा बैठक सम्पन्न

मध्यपश्चिम विश्वविद्यालयमा व्यवसाय उद्यमशीलता विकास कार्यक्रमको समीक्षा बैठक सम्पन्न

News

View Gallery
Loading...

मिति २०८३ असार २२ गते मध्यपश्चिम विश्वविद्यालय योजना, विकास तथा अनुगमन निर्देशनालयको आयोजनामा मध्यपश्चिम विश्वविद्यालयका केन्द्रीय विभाग तथा आंगिक क्याम्पसहरूमा सञ्चालित व्यवसाय उद्यमशीलताहरूको प्रगति समीक्षा बैठक सम्पन्न भएको छ।

उक्त बैठकको अध्यक्षता गर्दै योजना, विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णु कुमार खड्काज्यूले व्यवसाय उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत सञ्चालित विभिन्न परियोजनाहरूले विद्यार्थीलाई ‘सिक्दै कमाउँदै’ मान्यताअनुसार शिक्षालाई सीप र श्रमसँग जोडेर उद्यमशीलतामार्फत आत्मनिर्भर बनाउने भएकाले यसको प्रभावकारी सदुपयोग गर्न सम्बन्धित परियोजनाका संयोजकहरू र निकाय प्रमुखहरूलाई अपिल गर्नुभयो।

उक्त बैठकमा प्रमुख अतिथिका रूपमा रजिष्ट्रार सह-प्रा. डा. अर्जुन बहादुर अएडीज्यूले व्यवसाय उद्यमशीलता विकास कार्यक्रमको मूल मर्म र उद्देश्य अनुरूप परियोजना सञ्चालन गर्नुपर्नेमा जोड दिँदै यसको दिगोपनका लागि समुदाय र सरोकारवाला पक्षको संलग्नता बढाउनुपर्ने बताउनुभयो।

निवर्तमान उपकुलपति प्रा. डा. नारायण प्रसाद पौडेलज्यूले विश्वविद्यालयहरूको दिगो विकास र उद्यमशीलतामार्फत विश्वविद्यालयलाई उद्योगसँग जोड्नुपर्नेमा जोड दिँदै सञ्चालित परियोजनालाई समुदायको स्वामित्वमा लिनुपर्नेमा जोड दिनुभयो।

उक्त बैठकमा व्यवसाय उद्यमशीलता विकास कार्यक्रम सञ्चालनमा रहेका ग्रयाजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी, ग्रयाजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेस्ट्री, ग्रयाजुएट स्कुल अफ ह्युम्यानिटिज एण्ड सोसल साइन्सिज अन्तर्गतका केन्द्रीय विभागहरू, जलजला बहुमुखी क्याम्पस, रोल्पा; मुसीकोट खलंगा बहुमुखी क्याम्पस, रुकुम पश्चिम; नारायण बहुमुखी क्याम्पस, दैलेख; रारा बहुमुखी क्याम्पस, मुगु; बबई बहुमुखी क्याम्पस, बर्दिया; तथा बागेश्वरी बहुमुखी क्याम्पस, कोहलपुर, बाँकेमा सञ्चालित परियोजनाका बारेमा भएका प्रगति तथा भोगिएका समस्या र चुनौतीका विषयमा सम्बन्धित ग्रयाजुएट स्कुलका डिनज्यूहरू, विभागीय प्रमुख, क्याम्पस प्रमुख तथा परियोजना प्रमुखहरूले भौतिक तथा भर्चुअल माध्यमबाट प्रस्तुतीकरण गर्नुभएको थियो।