Skip to main content
रणनीतिक योजना निर्माणमा नेतृत्व सशक्त बनाउन मध्यपश्चिम विश्वविद्यालयमा क्षमता अभिवृद्धि कार्यक्रम

रणनीतिक योजना निर्माणमा नेतृत्व सशक्त बनाउन मध्यपश्चिम विश्वविद्यालयमा क्षमता अभिवृद्धि कार्यक्रम

News

View Gallery
Loading...

मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत विभिन्न निकायमा कार्यरत शैक्षिक तथा प्रशासनिक नेतृत्वकर्ताहरूको लागि रणनीतिक योजना विकास सम्बन्धी क्षमता अभिवृध्दि कार्यक्रम शुभारम्भ भएको छ ।

योजना विकास तथा अनुगमन निर्देशनालयको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा विश्वविद्यालयका विभिन्न निकाय सम्बद्ध नेतृत्वलाई योजना निर्माणमा सबल बनाउने उद्देश्यले एक समारोहका बीच जेठ १८ गते तीन दिने क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रमको समुद्घाटन गरिएको हो ।

वीरेन्द्रनगर सुर्खेत स्थित मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमको समुद्घाटन उपकुलपति प्रा. डा. नारायण प्रसाद पौडेलज्यूले ब्यानर पढेर गर्नुभएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपकुलपति प्रा. डा. पौडेलज्यूले उच्च शिक्षा संस्थाको गुणस्तर अभिवृद्धि, संस्थागत सुशासन तथा दीगो विकासका लागि रणनीतिक योजना अपरिहार्य रहेको बताउनुभयो । उहाँले विश्वविद्यालयलाई समयानुकूल प्रतिस्पर्धी, अनुसन्धानमुखी तथा परिणाममुखी संस्थाका रूपमा स्थापित गर्न शैक्षिक नेतृत्व र प्रशासनिक दक्षताको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै यस्ता तालिमले सहभागीहरूलाई व्यवहारिक ज्ञान र नेतृत्व क्षमता विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उपकुलपति पौडेलज्यूले व्यक्तिको सोच, चिन्तन, कार्यशैली र व्यवहारमा सकारात्मकता तथा रचनात्मकता विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै नकारात्मक मनोवृत्तिबाट मुक्त भई संस्थागत विकासमा केन्द्रित हुन प्रेरित गर्नुभयो ।

कार्यक्रमका विशेष अतिथि विश्वविद्यालयका रजिष्ट्रार सहप्रा. डा. अर्जुनबहादुर अयडीज्यूले विश्वविद्यालयको समग्र विकासका लागि योजनाबद्ध कार्यसंस्कृति, उत्तरदायित्व र प्रभावकारी व्यवस्थापन आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले उच्च शिक्षा क्षेत्रले सामना गरिरहेका चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्न सक्षम नेतृत्व, स्पष्ट रणनीति र संस्थागत प्रतिबद्धता आवश्यक पर्ने बताउँदै तालिमबाट प्राप्त ज्ञानलाई कार्यक्षेत्रमा व्यवहारिक रूपमा लागू गर्न र अरुलाई पनि साझा गर्न सहभागीहरूलाई दिशानिर्देश गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काले सहभागी शैक्षिक तथा प्रशासनिक नेतृत्वकर्ताहरूले उच्च शैक्षिक संस्थाको विकास, रणनीतिक योजना निर्माण, नेतृत्व विकास, संस्थागत सुशासन तथा प्रशासनिक व्यवस्थापनका विविध पक्षबारे प्रशिक्षण प्राप्त गर्ने बताउनुभयो ।

सहभागीहरुलाई स्वागतसँगै कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन परिषद्का विज्ञ सदस्य प्रा. डा. चन्द्रप्रसाद रिजालले तालिमले सहभागीहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्नुका साथै विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक प्रणालीलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने धारणा राख्नुभयो ।

समुद्घाटन समारोहमा विभिन्न ग्र्याजुएट स्कूलका डीनहरु सहप्रा. डा. आनन्दप्रसाद सुवेदी, सहप्रा. डा. पूर्णमान श्रेष्ठ, सहप्रा. डा. दिपकराज अधिकारी, सहप्रा. डा. करणसिंह धामी, कार्यकारी निर्देशक डा. यदुप्रसाद ज्ञवाली सहित प्राध्यापक तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन निर्देशनालयका प्रशासन प्रमुख एवम् विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीले गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रम पश्चात् सहभागीहरुलाई प्रा. डा. चन्द्रप्रसाद रिजालले रणनीतिक व्यवस्थापनका विविध आयाममा केन्द्रित रही सहजीकरण गर्नुभएको थियो । उद्घाटन सत्रपछि प्रशिक्षक प्रा. डा. चन्द्रप्रसाद रिजालले रणनीतिक व्यवस्थापन, संस्थागत विकास र नेतृत्व सुदृढीकरणका विविध आयाममा केन्द्रित रही सहजीकरण गर्नुभएको थियो।