शिक्षा, संस्कार र नेतृत्वको पहिलो शृङ्खला सम्पन्न
मध्यपश्चिम विश्वविद्यालय सिर्जनशील विद्यार्थी सञ्जालको आयोजनामा “शिक्षा, संस्कार र नेतृत्व” शीर्षकको पहिलो वैचारिक तथा प्रेरणामूलक शृङ्खला सम्पन्न भएको छ । कार्यक्रममा कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्री माननीय जीवनबहादुर शाहीज्यू वक्ताका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रमको संयोजन दीपक उपाध्यायले गर्नुभएको थियो भने पत्रकार यज्ञ खत्रीले कार्यक्रम सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमको उद्देश्य शिक्षालाई केवल पाठ्यपुस्तकमा सीमित नराखी जीवन अनुभव, नैतिक चेतना तथा नेतृत्व विकाससँग जोड्नु र विभिन्न शृङ्खलामार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई आमन्त्रण गरी उनीहरूको सङ्घर्ष, अनुभव, अनुशासन, नेतृत्व क्षमता र राष्ट्रप्रतिको दायित्वबारे युवासँग प्रत्यक्ष संवाद गराइनु रहेको छ ।
२०८३ जेठ ९ गते शनिबार मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा विश्वविद्यालयका प्राध्यापक, कर्मचारी तथा २०० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो । आजको पुस्तामा सूचना प्रशस्त भए पनि प्रेरणादायी व्यक्तित्वसँग प्रत्यक्ष संवाद गर्ने अवसर कम हुँदै गएको सन्दर्भमा यस शृङ्खलाले सकारात्मक प्रभाव पार्ने विश्वास लिईएको छ ।