Skip to main content
अभ्यास अदालत सम्बन्धी पाँच दिने क्षमता विकास तालिम सम्पन्न

अभ्यास अदालत सम्बन्धी पाँच दिने क्षमता विकास तालिम सम्पन्न

News

View Gallery
Loading...

कानून विषयका विद्यार्थीहरूको व्यावहारिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित अभ्यास अदालत सम्बन्धी पाँच दिने क्षमता विकास तालिम जेठ ३० गते सम्पन्न भएको छ ।

मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कूल अफ लको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा वीरेन्द्रनगर, सुर्खेतमा संचालित सो तालिम शनिबार सम्पन्न भएको हो ।

तालिम समापन समारोहमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नारायणप्रसाद पौडेलज्यूले सफल जीवनका लागि व्यक्तिले आफ्नो लक्ष्य, मूल्य र मार्ग स्पष्ट रूपमा निर्धारण गर्नुपर्ने बताउनुभयो ।

कठिनाइ र संघर्षको सामना नगरी कोही पनि सक्षम र सफल बन्न नसक्ने उल्लेख गर्दै उहाँले हरेक सफल व्यक्तिले विभिन्न संघर्षहरू पार गर्दै आफ्नो गन्तव्य हासिल गरेको स्मरण गराउनुभयो। उहाँले विद्यार्थीहरूलाई बहुउद्देश्य नभै निश्चित उद्देश्यप्रति केन्द्रित भई इमान्दारिताका साथ अघि बढ्न प्रेरित गर्नुभयो ।

विशेष अतिथि विश्वविद्यालयका रजिष्ट्रार सहप्रा. डा. अर्जुनबहादुर अयडीज्यूले केवल कोरा किताबी ज्ञान मात्र पर्याप्त नहुने धारणा व्यक्त गर्दै तथ्य प्राप्तिका लागि प्रश्न गर्न सक्ने र विषयवस्तुलाई बहुआयामिक दृष्टिकोणबाट विश्लेषण गर्न सक्ने नागरिक नै वास्तविक अर्थमा क्षमतावान् मान्न सकिने बताउनुभयो ।

रजिष्ट्रार सहप्रा. डा. अयडीले कानूनका विद्यार्थी झनै सैद्धान्तिक अवधारणामा स्पष्ट एवम् तार्किक भएमात्र व्यवहारमा स्पष्टता आउने बताउनुभयो ।

आयोजक स्कूलका डीन सहप्रा. डा. पूर्णमान श्रेष्ठज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्कूल अफ लका कार्यक्रम निर्देशक सहप्रा. विनयकुमार झा सहित सहभागी विद्यार्थीहरुका तर्फबाट स्ववियु कोषाध्यक्ष लोकप्रसाद रिजाल र सन्जु विश्वकर्माले अनुभूतिमूलक मन्तव्य राख्नुभएको थियो ।