नयाँ बी.एड. पाठ्यक्रमसम्बन्धी पाँच दिने पुनर्ताजगी कार्यशाला
मध्यपश्चिम विश्वविद्यालय, ग्र्याजुएट स्कुल अफ एजुकेशन, डिन कार्यालयको आयोजनामा तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा “शिक्षणशास्त्रीय र विषयगत क्षमताको सुदृढीकरणका लागि नयाँ बी.एड. पाठ्यक्रमसम्बन्धी पाँच दिने पुनर्ताजगी” विषयक पाँच दिने कार्यशाला मिति २०८३ साल जेठ १५ गतेदेखि औपचारिक रूपमा सुरु भएको छ।
कार्यक्रमको उद्घाटन सत्र ग्र्याजुएट स्कुल अफ एजुकेशनका डिन सह-प्रा. डा. आनन्द प्रसाद सुवेदीज्यू को अध्यक्षता तथा विश्वविद्यालयका उपकुलपति प्रा. डा. नारायण प्रसाद पौडेलज्यू को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा बोल्दै उपकुलपति प्रा. डा. नारायण प्रसाद पौडेलज्यूले उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि प्राध्यापकहरूको निरन्तर पेशागत विकास आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले नयाँ पाठ्यक्रमअनुसार शिक्षण–सिकाइ प्रक्रियालाई अझ प्रभावकारी, व्यवहारमुखी तथा विद्यार्थीकेन्द्रित बनाउन यस्ता कार्यशालाहरू महत्त्वपूर्ण हुने बताउनुभयो।
कार्यशालाको पहिलो दिन विश्वविद्यालयका केन्द्रीय तथा आङ्गिक क्याम्पसहरूबाट सहभागी भएका करिब ५० जना प्राध्यापकहरूको उत्साहजनक सहभागिता रहेको थियो। दिनभर सञ्चालन भएका विभिन्न शैक्षिक सत्र तथा विषयगत समूहगत कार्यहरूमा सम्बन्धित क्षेत्रका विज्ञहरूले सहजीकरण गर्नुभएको थियो। कार्यशालामार्फत नयाँ बी.एड. पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन, शिक्षण पद्धतिको सुदृढीकरण तथा विषयगत दक्षता अभिवृद्धिमा योगदान पुग्ने अपेक्षा गरिएको छ।