मिति २०८३ साल असोज १२ गते मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एन्ड फरेस्ट्री र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडबीच कृषि क्षेत्रमा दीर्घकालीन अनुसन्धान तथा प्रसारका लागि प्राविधिक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति ई. डा. राजन सुवालज्यूको समुपस्थितिमा आयोजित कार्यक्रममा ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एन्ड फरेस्ट्रीका डीन डा. करन सिंह धामी र मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, कर्णाली प्रदेश कार्यालयका प्रमुख लक्ष्मण चन्द ठकुरीले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो।
समझदारीअनुसार कृषि विषयका विद्यार्थीलाई कम्पनीका विभिन्न स्थानमा इन्टर्नसिप तथा व्यावहारिक सिकाइका अवसर उपलब्ध गराउने, कृषि क्षेत्रमा संयुक्त अनुसन्धान तथा प्रसार गतिविधि सञ्चालन गर्ने, विद्यार्थीलाई अनुसन्धान तथा विकास केन्द्रहरूको अवलोकन र अध्ययन भ्रमण गराउने तथा कृषि व्यवसाय र मूल्य शृङ्खला सम्बन्धी गतिविधिमा सहकार्य गरिनेछ।
त्यसैगरी, अन्तिम सेमेस्टरका विद्यार्थीमा उद्यमशीलता तथा एग्रिबिजनेससम्बन्धी क्षमता विकास गर्न मुक्तिनाथ इन्टरप्रेन्योरसिप सेन्टरमार्फत सहजीकरण गर्ने तथा ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एन्ड फरेस्ट्री बाट उत्तीर्ण हुने छनोट गरिएका कृषि स्नातक तथा स्नातकोत्तर विद्यार्थीलाई वार्षिक रूपमा रोजगारीका अवसर तथा ‘जब प्लेसमेन्ट’ समेत गराउने व्यवस्था समझदारीपत्रमा गरिएको छ।
पाँच वर्षका लागि कायम रहने उक्त समझदारीले मध्यपश्चिम विश्वविद्यालयका कृषि अध्ययनरत विद्यार्थीहरुको व्यावहारिक ज्ञान, अनुसन्धान, उद्यमशीलता, क्षमता विकास तथा रोजगारीसँगको सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। सम्झौता हस्ताक्षर कार्यक्रममा योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्का, प्राध्यापक तथा उपकुलपति सचिवालय सदस्य लगायतको उपस्थिति रहेको थियो।