Skip to main content
ग्र्याजुएट स्कुल अफ एग्रीकल्चर एण्ड फरेष्ट्रीद्वारा दुई छुट्टाछुट्टै संस्थासँग समझदारीपत्रमा हस्ताक्षर सम्पन्न

ग्र्याजुएट स्कुल अफ एग्रीकल्चर एण्ड फरेष्ट्रीद्वारा दुई छुट्टाछुट्टै संस्थासँग समझदारीपत्रमा हस्ताक्षर सम्पन्न

News

View Gallery
Loading...

मध्यपश्चिम विश्वविद्यालय, ग्र्याजुएट स्कुल अफ एग्रीकल्चर एण्ड फरेष्ट्रीले कृषि शिक्षा, अनुसन्धान तथा व्यावहारिक सीप विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘लोकल इनिसिएटिभ्स फर बायोडाइभर्सिटी, रिसर्च एन्ड डेभलपमेन्ट (लि–बर्ड)’ र ‘राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (नाम्प)’सँग छुट्टाछुट्टै समझदारीपत्रमा हस्ताक्षर गरेको छ।


यी समझदारीपत्रहरू आठौँ सत्रान्तका विद्यार्थीहरूका लागि मानव सेवा विकाससम्बन्धी इन्टर्नसिप कार्यक्रम सञ्चालन गर्ने तथा कक्षाकोठामा प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यावहारिक कार्यक्षेत्रसँग जोड्ने उद्देश्यले सम्पन्न भएका हुन्। यस सहकार्यबाट विद्यार्थीहरूले कृषि अनुसन्धान, प्रविधि हस्तान्तरण, कृषक सेवा, परियोजना व्यवस्थापन तथा समुदायमा आधारित सेवा विकासका क्षेत्रमा प्रत्यक्ष अनुभव हासिल गर्ने अवसर प्राप्त गर्नेछन्।


लि–बर्ड संस्थासँग भएको सम्झौतामा ग्र्याजुएट स्कुल अफ एग्रीकल्चर एण्ड फरेष्ट्रीका डिन डा. करन सिंह धामी र लि–बर्ड संस्थाका कार्यकारी निर्देशक श्री भरत भण्डारीले हस्ताक्षर गर्नुभएको हो। यस सहकार्यअन्तर्गत पाठ्यक्रम विकासमा सहयोग, अनुसन्धान सहकार्य, प्राविधिक विशेषज्ञताको आदानप्रदान, विद्यार्थी इन्टर्नसिप तथा गोष्ठी र कार्यशाला सञ्चालनजस्ता क्षेत्रमा सहकार्य गरिनेछ।


जैविक विविधता संरक्षण, अनुसन्धान तथा विकासका क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव हासिल गरेको उक्त संस्थासँगको सहकार्यले दिगो कृषि विकास, जैविक विविधता संरक्षण तथा जलवायु अनुकूलनका क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।


त्यसैगरी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमसँग भएको सम्झौतामा कार्यक्रम व्यवस्थापन इकाइ, ललितपुरका कार्यक्रम निर्देशक श्री हिक्मत कुमार श्रेष्ठ र ग्र्याजुएट स्कुल अफ एग्रीकल्चर एण्ड फरेष्ट्रीका डिन डा. करन सिंह धामीले हस्ताक्षर गर्नुभएको हो। उक्त सम्झौताअनुसार विश्वविद्यालयका १८ जना विद्यार्थीले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमसँगको सहकार्यमा सम्बन्धित कार्यक्षेत्रमा व्यावहारिक इन्टर्नसिप गर्ने अवसर प्राप्त गर्नेछन्।


सम्झौतामा साक्षीका रूपमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको कार्यक्रम व्यवस्थापन इकाइ, खुमलटारका वरिष्ठ कृषि अधिकृत श्री रविन धिताल तथा ग्र्याजुएट स्कुल अफ एग्रीकल्चर एण्ड फरेष्ट्रीका संयोजक उप-प्रा. हरि प्रसाद सुवेदीको उपस्थिति रहेको थियो।


यी दुवै सहकार्यले विद्यार्थीहरूको व्यावसायिक दक्षता, अनुसन्धान सीप, नेतृत्व क्षमता, समस्या समाधान गर्ने क्षमता, सञ्चारकौशल तथा समुदायप्रतिको उत्तरदायित्व अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। साथै, कृषि क्षेत्रमा नवीन प्रविधि तथा आधुनिक अभ्यासको प्रयोगलाई प्रोत्साहन गर्दै कृषि उत्पादन र उत्पादकत्व वृद्धि, दिगो कृषि विकास तथा दक्ष, सिर्जनशील र सेवामुखी जनशक्ति उत्पादनमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ।