एडुरोमको स्थापना तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न
मिति २०८३ साल वैशाख ८ गते नेपाल एजुकेशन एण्ड रिसर्च नेटवर्क (एनरेन) को सहकार्यमा मध्यपश्चिम विश्वविद्यालयमा एडुरोम नेटवर्क जडान गर्ने कार्य सम्पन्न भएको छ। सोही अवसरमा उक्त सेवासँग सम्बन्धित अन्तरक्रियात्मक कार्यक्रम समेत वीरेन्द्रनगर, सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ।
विश्वविद्यालयका रजिस्ट्रार, प्रा. डा. शोभाखर कँडेलज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा एनरेनका तर्फबाट सिनियर नेटवर्क इन्जिनियर निरज आचार्यले एनरेनको परिचय तथा आबद्ध संस्थाहरूसँग भइरहेको सहकार्यका विषयमा प्रस्तुति दिनुभएको थियो। त्यसैगरी, सिस्टम एडमिनिस्ट्रेटर इन्जिनियर निराजन पराजुलीले विश्वविद्यालयमा जडान गरिएको एडुरोम प्रयोग गर्ने विधि तथा फाइल सेन्डर, रिसर्च फर लाइफ लगायतका सेवाबारे जानकारी गराउनुभएको थियो।
कार्यक्रमका अध्यक्ष तथा रजिस्ट्रार प्रा. डा. शोभाखर कँडेलज्यूले एनरेनसँगको सहकार्य कोभिड महामारीको समयदेखि नै निरन्तर रहँदै आएको स्मरण गर्दै विश्वविद्यालयमा उपलब्ध एडुरोम लगायतका प्रविधिहरूको अधिकतम उपयोग गर्न उपस्थित सम्पूर्णलाई सुझाव दिनुभयो। उहाँले हाल केन्द्रीय कार्यालयमा स्थापना भएको एडुरोम नेटवर्क आगामी दिनमा विश्वविद्यालयका सम्पूर्ण निकायहरूमा समेत विस्तार गर्दै लैजाने उल्लेख गर्नुभएको थियो। साथै, विश्वविद्यालय अब प्रविधिको उच्चतम प्रयोगतर्फ उन्मुख भएको उल्लेख गर्दै यसको विकल्प नरहेकोले सोको प्रभावकारी कार्यान्वयनका लागि सबैलाई आ–आफ्नो स्थानबाट प्रतिबद्ध भएर लाग्न निर्देशन दिनुभयो।
कार्यक्रममा विभिन्न ग्र्याजुएट स्कूलका डिन, कार्यकारी निर्देशक तथा केन्द्रीय कार्यालयस्थित विभिन्न निकायमा कार्यरत कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन सूचना प्रविधि संयोजक उप–प्राध्यापक पन्चदेव भट्टले गर्नुभएको थियो।