मध्यपश्चिम विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयबीच भेटवार्ता
आज मिति २०८३ साल असोज ५ गते मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति ई. डा. राजन सुवालज्यूको नेतृत्वमा विश्वविद्यालय पदाधिकारीहरूको टोली र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, धनगढी, कैलालीका उपकुलपति प्रा. डा. सुनिल कुमार जोशीज्यूको नेतृत्वमा रहेको टोलीबीच धनगढी, कैलाली स्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा भेटवार्ता सम्पन्न भएको छ।
भेटवार्ताका क्रममा दुई विश्वविद्यालयबीच स्वास्थ्य विज्ञानका क्षेत्रमा हुन सक्ने सम्भावित सहकार्यका विषयमा छलफल भएको थियो। छलफलमा स्वास्थ्य विज्ञानसम्बन्धी शैक्षिक कार्यक्रम, शिक्षण तथा अनुसन्धान, जनशक्ति विकास र अनुभव आदान–प्रदानलगायतका क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावनाबारे विचार–विमर्श गरिएको थियो। आगामी दिनमा दुवै विश्वविद्यालयबीच आपसी समन्वय र सहकार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउने विषयमा समेत छलफल भएको थियो।
कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका रजिस्ट्रार डा. सुदीप ठकुरीज्यू, विभिन्न निर्देशनालयका कार्यकारी निर्देशक, प्राध्यापक तथा उपकुलपति र रजिस्ट्रार सचिवालयका सदस्यहरूको उपस्थिति रहेको थियो। त्यस्तै, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका तर्फबाट रजिस्ट्रार डा. भीमबहादुर चन्दज्यूलगायतको टोलीले छलफलमा सहभागिता जनाउनुभएको थियो।