मध्यपश्चिम विश्वविद्यालयअन्तर्गतका ग्र्याजुएट स्कुलहरूलाई थप व्यवस्थित, प्रभावकारी तथा समयानुकूल बनाउने उद्देश्यले गठित पुनर्संरचना अध्ययन कार्यदलको आयोजनामा विश्वविद्यालयका विभिन्न ग्र्याजुएट स्कुलहरूमा छलफल तथा अन्तरक्रियात्मक बैठकहरू सम्पन्न भएका छन्।
पुनर्संरचना अध्ययन कार्यदलले प्रारम्भमा ग्र्याजुएट स्कुल अफ ह्युमानिटिज एन्ड सोसल साइन्सेज र ग्र्याजुएट स्कुल अफ साइन्स एन्ड टेक्नोलोजीमा बैठक आयोजना गरेको थियो। त्यसपछि ग्र्याजुएट स्कुल अफ एजुकेसन, ग्र्याजुएट स्कुल अफ ल, ग्र्याजुएट स्कुल अफ म्यानेजमेन्ट, ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एन्ड फरेस्ट्री, ग्र्याजुएट स्कुल अफ इन्जिनियरिङ र मुसोममा क्रमश: छुट्टाछुट्टै बैठक तथा छलफल सम्पन्न भएका हुन्।
बैठकहरू पुनर्संरचना अध्ययन कार्यदलका संयोजक एवं ग्र्याजुएट स्कुल अफ ह्युमानिटिज एन्ड सोसल साइन्सेजका डीन सह–प्रा.डा. आनन्द प्रसाद सुवेदीज्यूको संयोजकत्वमा सम्पन्न भएका थिए। छलफलमा कार्यदलका सदस्यहरू डीन सह–प्रा.डा. पूर्णमान श्रेष्ठ, सह–प्रा.डा. दीपकराज अधिकारी, सह–प्रा.डा. करन सिंह धामी तथा कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्कासहित सम्बन्धित ग्र्याजुएट स्कुलका पदाधिकारी, प्राध्यापक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
बैठकहरूमा सम्बन्धित ग्र्याजुएट स्कुलका पदाधिकारी, प्राध्यापक तथा कर्मचारीहरूले ग्र्याजुएट स्कुलको विद्यमान संरचना, विभागीय व्यवस्थापन, शैक्षिक तथा प्रशासनिक प्रभावकारिता र सम्भावित पुनर्संरचनाका विविध पक्षमा आफ्ना धारणा, सुझाव तथा आवश्यकताहरू प्रस्तुत गरेका थिए। साथै ग्र्याजुएट स्कुलहरूको वर्तमान अवस्था, विद्यमान व्यवस्थाका सबल तथा सुधार गर्नुपर्ने पक्ष र आगामी दिनमा अवलम्बन गर्न सकिने संरचनागत तथा व्यवस्थापकीय विकल्पका विषयमा समेत विचार-विमर्श गरिएको थियो।
विश्वविद्यालयको शैक्षिक संरचनालाई थप व्यवस्थित, प्रभावकारी र आवश्यकताअनुकूल बनाउने उद्देश्यले आयोजित उक्त छलफलहरूबाट प्राप्त राय, सुझाव तथा निष्कर्षलाई समेटी पुनर्संरचना अध्ययन कार्यदलले आवश्यक राय-सुझावसहितको प्रतिवेदन विश्वविद्यालयको मूल नेतृत्वसमक्ष पेस गर्नेछ। उक्त अध्ययनले विश्वविद्यालयअन्तर्गतका ग्र्याजुएट स्कुलहरूको संरचना, विभागीय व्यवस्थापन तथा शैक्षिक एवं प्रशासनिक कार्यप्रणालीलाई थप प्रभावकारी बनाउने दिशामा आवश्यक आधार तयार गर्ने अपेक्षा गरिएको छ।