उद्यमशीलता र पर्यटन प्रवर्द्धनमा जोड दिँदै ‘मुसोम राष्ट्रिय सम्मेलन २०२६’ सम्पन्न
मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम) द्वारा "स्थानीय ज्ञान, उत्पादन तथा अभ्यासमार्फत उद्यमशीलता र पर्यटन प्रवर्द्धन" भन्ने मूल नारासहित ‘मुसोम राष्ट्रिय सम्मेलन २०२६’ असार १२ र १३ गते सुर्खेतमा सफलतापूर्वक सम्पन्न भएको छ।
दुईदिने सम्मेलनमा नीति निर्माता, प्राज्ञ, अनुसन्धानकर्ता, उद्यमी तथा पर्यटन क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो। सम्मेलनमा स्थानीय ज्ञान, उत्पादन तथा परम्परागत अभ्यासहरूको संरक्षण र प्रवर्द्धनमार्फत दिगो आर्थिक विकासका सम्भावना तथा रणनीतिबारे व्यापक छलफल गरिएको थियो।
सम्मेलनको उद्घाटन सत्रको अध्यक्षता मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति तथा सम्मेलन मूल आयोजक समितिका संयोजक प्रा. डा. नारायण प्रसाद पौडेलज्यूले गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका माननीय आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहज्यू रहनुभएको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै वक्ताहरूले स्थानीय ज्ञान, मौलिक उत्पादन तथा सांस्कृतिक अभ्यासहरू उद्यमशीलता विकास, रोजगारी सिर्जना तथा पर्यटन प्रवर्द्धनका महत्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो। कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार सह-प्रा. डा. अर्जुन बहादुर अयडीज्यू, पूर्वमन्त्री तथा सामाजिक अभियन्ता माधव चौलागाईंज्यू, कर्णाली प्रदेश लोक सेवा आयोगकी कार्यवाहक अध्यक्ष बसन्ती शाहीज्यू, मुसोमका कार्यकारी निर्देशक सह-प्रा. वीर बहादुर पौडेलज्यू साथै मध्यपश्चिम विश्वविद्यालयका विभिन्न ग्र्याजुएट स्कुलका डिन, कार्यकारी निर्देशक तथा विश्वविद्यालयका उच्च पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।
सम्मेलनमा नेपाल नदी संरक्षण कोष (एनआरसीटी) का अध्यक्ष मेघ आलेज्यूले मुख्य वक्ताका रूपमा दिगो पर्यटन तथा वातावरण संरक्षणले क्षेत्रीय विकासमा खेल्ने भूमिकाबारे विशेष प्रस्तुति दिनुभएको थियो।
यसैगरी, कर्णाली प्रदेशमा पर्यटनमा आधारित उद्यम विकासका अवसर र चुनौती विषयक प्यानल छलफलमा पदमबहादुर शाही, विष्णु प्रसाद पोखरेल, सुनिल पोखरेल, निरक केसी, देवराज जैसी, भरत बन्धु थापा तथा कालु हमाल लगायत उद्यमी, पर्यटन विज्ञ, शिक्षाविद् तथा उद्योग क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनुभएको थियो।
सम्मेलन अवधिभर विभिन्न प्राविधिक सत्र, अनुसन्धानमूलक कार्यपत्र प्रस्तुति तथा अन्तरक्रियात्मक छलफलहरू सञ्चालन गरिएका थिए। सहभागी अनुसन्धानकर्ता तथा विद्वानहरूले उद्यमशीलता विकास, पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको प्रवर्द्धन तथा समुदायमा आधारित आर्थिक विकासका विषयमा आफ्ना अनुसन्धान निष्कर्ष प्रस्तुत गर्दै स्थानीय स्रोतसाधन र परम्परागत ज्ञानको प्रभावकारी उपयोगमार्फत क्षेत्रीय प्रतिस्पर्धात्मकता र दिगो विकास अभिवृद्धि गर्न सकिने विषयमा विचार आदानप्रदान गरेका थिए।
सम्मेलनको संयोजन उप-प्रा. गोविन्द केसीले गर्नुभएको थियो भने विभिन्न प्राविधिक सत्रहरूको सहजीकरण उप-प्रा. डिल्लु प्रसाद धुङ्गाना, उप-प्रा. ऋषि केशर खनाल तथा उप-प्रा. क्षेत्र तिमिल्सेनाले गर्नुभएको थियो। कार्यक्रम सञ्चालन मुसोमका उप-प्रा. ऋत रिजालले गर्नुभएको थियो।
सम्मेलनबाट प्राप्त निष्कर्षहरूले नीति निर्माण, शैक्षिक सहकार्य तथा व्यावहारिक कार्यक्रममार्फत कर्णाली प्रदेशसहित देशभर उद्यमशीलता र पर्यटन क्षेत्रको प्रवर्द्धन तथा सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिईएको छ।