वार्षिकोत्सवसँगै सिनेट बैठक तथा दीक्षान्त समारोह सम्बन्धी आयोजित पत्रकार सम्मेलन सम्पन्न
मध्यपश्चिम विश्वविद्यालयको आसन्न वार्षिकोत्सव, विश्वविद्यालय सभा तथा दीक्षान्त समारोहको पूर्व सन्ध्यामा असार १ गते, सोमवार वीरेन्द्रनगर सुर्खेत स्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन सम्पन्न गरिएको छ ।
विश्वविद्यालयको सोह्रौं स्थापना दिवसकै दिन असार ३ गते हुने १८ औँ विश्वविद्यालय सभा र चौथो दीक्षान्त समारोहका बारे जानकारी दिन सञ्चार तथा प्रचारप्रसार समितिद्वारा सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थितिमा पत्रकार सम्मेलन सम्पन्न गरिएको हो ।
सम्मेलनमा प्रमुख अतिथि एवं उपकुलपति प्रा. डा. नारायण प्रसाद पौडेलज्यूले आगामी असार ३ गते आयोजना हुने उक्त समारोहको तयारी, उद्देश्य, सहभागिता तथा व्यवस्थापनका विविध पक्षबारे पत्रकारका जिज्ञासा उपर सम्बोधन गर्नुभएको थियो ।
उक्त सम्मेलनको अध्यक्षता गर्नुभएका प्रचारप्रसार उपसमितिका संयोजक एवम् योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काज्यूले विश्वविद्यालयको आगामी आ. व. ०८३/०८४ को लागि बजेट, कार्यक्रम पारित हुने र ग्रेस लिष्टमा रहेका विभिन्न ग्र्याजुएट स्कूलका कूल १९ सय २८ जना विद्यार्थी दीक्षित हुने बताउनुभयो । उहाँका अनुसार स्नातक तहमा १२ सय २२ जना, स्नातकोत्तर तहमा ६ सय ९४ जना र दर्शनाचार्य तहमा १२ गरी १९ सय २८ जना दीक्षित हुनेछन् ।
कार्यक्रममा पत्रकारहरुका जिज्ञासा उपर उपकुलपति प्रा. डा. पौडेलज्यू सहित संयोजक डा. खड्काज्यू र अन्तरराष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदुप्रसाद ज्ञवालीज्यूले जवाफ दिनुभएको थियो ।
कार्यक्रमको सञ्चालन प्रचारप्रसार उपसमितिका सदस्य एवम् विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीले गर्नुभएको थियो। प्रचारप्रसार उपसमितिमा डा. खड्काको संयोजकत्वमा उपप्रा. त्रिभुवन वि. सी., उपप्रा. पन्चदेव भट्ट, प्रशासन अधिकृत शेरबहादुर केसी र लक्ष्मीप्रसाद बाँस्तोला सदस्य रहेको पाँच सदस्यीय समिति रहेको छ ।