नयाँ भर्ना विशेष छलफल कार्यक्रम सम्पन्न
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति सह-प्रा. ई. डा. राजन सुवालज्यूको अध्यक्षतामा मिति २०८३ साल असार ३१ गते विश्वविद्यालयका पदाधिकारीहरूको बैठक वीरेन्द्रनगर सुर्खेत स्थित केन्द्रीय कार्यालयको सभा हलमा सम्पन्न भएको छ।
बैठकमा विश्वविद्यालयका आङ्गिक क्याम्पसका क्याम्पस प्रमुख तथा केन्द्रीय विभागका विभागीय प्रमुखहरूसँग स्नातक तहमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी विषयमा विशेष छलफल गरिएको थियो। छलफल मुख्यतः आगामी शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना प्रक्रियालाई प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने विषयमा केन्द्रित रहेको थियो।
कार्यक्रमका अध्यक्ष तथा उपकुलपति सह-प्रा. ई. डा. राजन सुवालज्यूले सम्पूर्ण पदाधिकारीहरूलाई विद्यार्थी भर्ना प्रक्रियालाई उच्च प्राथमिकतामा राखी तदारुकताका साथ अगाडि बढाउन निर्देशन दिनुभएको थियो। साथै, क्याम्पस प्रमुख तथा विभागीय प्रमुखहरूले आ-आफ्ना क्याम्पस तथा विभागमा सञ्चालन भइरहेका भर्ना लगायत शैक्षिक तथा प्रशासनिक गतिविधिबारे जानकारी गराउनुभएको थियो।
कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार सह-प्रा. डा. अर्जुनबहादुर अयडीज्यू, विभिन्न ग्र्याजुएट स्कुलका डिन, कार्यकारी निर्देशक, विभागीय प्रमुख तथा संयोजक, क्याम्पस प्रमुख, उपकुलपति कार्यालय तथा रजिष्ट्रार कार्यालयका कर्मचारीलगायतको उपस्थिति रहेको थियो।