एक वर्षे बी.एड. पाठ्यक्रम विकास सम्बन्धी सरोकारवालासँगको परामर्श कार्यशाला सम्पन्न
मिति २०८३ साल जेठ ३० गते मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कुल अफ एजुकेशन, डिनको कार्यालयद्वारा आयोजित एक वर्षे बी.एड. पाठ्यक्रम विकास सम्बन्धी सरोकारवालासँगको परामर्श विषयक एक दिने कार्यशाला सम्पन्न भएको छ। उक्त कार्यक्रम नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत विद्यालय शिक्षाका लागि प्राविधिक सहयोग (टेक्सेस) नेपाल को सहयोगमा सम्पन्न भएको हो।
ग्र्याजुएट स्कुल अफ एजुकेशनका डिन सह-प्रा. डा. आनन्दप्रसाद सुवेदीज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका माननीय मन्त्री घनश्याम भण्डारीज्यू प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने विशेष अतिथिका रुपमा विश्वविद्यालयका उपकुलपति प्रा. डा. नारायण प्रसाद पौडेलज्यू उपस्थित रहनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा माननीय मन्त्री घनश्याम भण्डारीज्यूले कर्णाली प्रदेशमा शिक्षा क्षेत्रको विकासमा मध्यपश्चिम विश्वविद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभएको थियो । प्रस्तावित एक वर्षे बी.एड. कार्यक्रमले विभिन्न क्षेत्रमा कार्यरत व्यक्तित्वहरूलाई थप लाभान्वित गर्ने विश्वास व्यक्त गर्दै उहाँले उक्त कार्यक्रमलाई भौतिक तथा अनलाइन दुवै माध्यमबाट सञ्चालन गर्न सकिए अझ प्रभावकारी हुने उल्लेख गर्नुभएको थियो ।
त्यसैगरी कार्यक्रमका विशेष अतिथि तथा विश्वविद्यालयका उपकुलपति प्रा. डा. नारायण प्रसाद पौडेलज्यूले प्रस्तावित पाठ्यक्रममाथि आफ्ना धारणा व्यक्त गर्दै सरोकारवालासँगको परामर्श प्रक्रियाले पाठ्यक्रमलाई अझ परिस्कृत र गुणस्तरीय बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमका अध्यक्ष तथा डिन सह-प्रा. डा. आनन्दप्रसाद सुवेदीज्यूले एक वर्षे बी.एड. कार्यक्रम सञ्चालनको सन्दर्भमा सीप तथा आवश्यकता बीचको अन्तर न्यूनीकरण गर्दै विविध सामाजिक संरचनामा कार्यरत जनशक्तिको शैक्षिक आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले सरोकारवालासँगको परामर्श कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभएको थियो ।
कार्यशालामा उप-प्रा. डा. प्रेमकुमारी ढकालले एक वर्षीय बी.एड. कार्यक्रमको प्रारम्भिक अवधारणा प्रस्तुत गर्नुभएको थियो। त्यस्तै समावेशी शिक्षा विशेषज्ञ लिसा मेत्सोलाले फिनल्याण्ड तथा युरोपेली परिप्रेक्ष्यमा समावेशी शिक्षाबारे प्रस्तुतीकरण गर्नुभएको थियो भने कार्यकारी निर्देशक डा. यदु प्रसाद ज्ञवालीले पाठ्यक्रम पुनरावलोकनको आवश्यकता मूल्याङ्कनका प्रारम्भिक निष्कर्षहरू तथा प्रमुख सिफारिसहरू का सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो।
कार्यक्रममा विभागीय प्रमुख उप-प्रा. प्रतिभा खड्काले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने टेक्सेस कर्णाली प्रदेशका संयोजक बखतबहादुर भण्डारीले परियोजनाको परिचय तथा गतिविधिबारे प्रस्तुतीकरण गर्नुभएको थियो। कार्यकारी निर्देशक डा. बिष्णु कुमार खड्काले विगतका दिनमा एक वर्षे बी.एड. कार्यक्रमका लागि गरेका पहल बारे स्मरण गर्दै यस कन्सल्टेसन मिटिङ्गले कार्यक्रम मा नयाँ आयाम थपेको उल्लेख गर्नुभएको थियो ।
टेक्सेस परियोजनाले शिक्षक तालिम तथा शिक्षक शिक्षा सम्बन्धी नीतिगत सुधारका क्षेत्रमा कार्य गर्दै आएको छ। यस परियोजनाले शिक्षक सेवा आयोग तथा नेपालका छवटा विश्वविद्यालयसँग सहकार्य गरी शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धिमा योगदान पुर्याउँदै आएको छ।
उद्घाटन सत्र तथा प्रस्तुतीकरण लगत्तै सहभागीहरूलाई विभिन्न विषयगत समूहमा विभाजन गरी समूहगत छलफल सम्पन्न गरिएको थियो। कार्यशालामा शिक्षा क्षेत्रका विज्ञ, सरोकारवाला निकायका प्रतिनिधि, विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा अन्य सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण उप-प्रा. भिम रोकायाले गर्नुभएको थियो।