मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेष्ट्रीको डिनको कार्यालयको आयोजनामा सातौँ तथा आठौँ सत्रका विद्यार्थीहरूका लागि सञ्चालन गरिएको तीनदिने तथ्याङ्क विश्लेषणसम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
रामघाट, सुर्खेतस्थित ग्र्याजुएट स्कुलमा मिति २०८३ असार २३ गते तालिमको अन्तिम दिन आयोजित समापन कार्यक्रममा नवनियुक्त उपकुलपति सह-प्रा. डा. ई. राजन सुवालज्यूको स्वागतसहित उहाँको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा विशिस्ठ अतिथिको रुपमा निवर्तमान उपकुलपति प्रा. डा. नारायण प्रसाद पौडेलज्यू तथा रजिष्ट्रार सह-प्रा. डा. अर्जुन बहादुर अयडीज्यू, त्यसै गरी विशेष अतिथिको रुपमा विश्वविद्यालयका विभिन्न ग्र्याजुएट स्कुलका डिनज्यूहरु र अतिथिको रुपमा ग्र्याजुएट स्कुलका संयोजक, प्राध्यापक, कर्मचारी लगायतको उपस्थिति रहेको थियो।
ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेष्ट्रीका डीन सह–प्रा. डा. करन सिंह धामीज्यूको अध्यक्षतामा सम्पन्न उक्त समापन कार्यक्रममा सहभागी विद्यार्थीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपले अनुसन्धान कार्यलाई थप व्यवस्थित, विश्वसनीय तथा प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।