विश्व वातावरण दिवस २०८३ का अवसरमा गोडमेल तथा सरसफाइ कार्यक्रम सम्पन्न
विश्व वातावरण दिवस २०८३ को अवसरमा समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास भन्ने मूल नाराका साथ मध्यपश्चिम विश्वविद्यालयले केन्द्रीय प्रशासनिक भवन परिसर, वीरेन्द्रनगर सुर्खेतमा विरुवाको गोडमेलसँगै सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
प्रकृतिप्रति सम्मान र वातावरणीय स्वच्छताप्रति साझा जिम्मेवारीलाई आत्मसात् गर्दै जुन ५ अर्थात् जेठ २२ गते आयोजित कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार सहप्रा. डा. अर्जुनबहादुर अयडीज्यूको नेतृत्वमा विभिन्न ग्र्याजुएट स्कूलका डीन, कार्यकारी निर्देशक सहित उपलब्ध शिक्षक तथा कर्मचारीहरूको सक्रिय सहभागितामा सो दिवस मनाइएको हो । कार्यालय परिसरमा रहेका विरुवाहरूको गोडमेल, सरसफाइ तथा हरियाली प्रवर्द्धनका गतिविधि सञ्चालन गरी दिवसलाई रचनात्मक बनाइएको छ ।
रजिष्ट्रार सहप्रा. डा. अयडीज्यूले वातावरण संरक्षण केवल एक दिवसमा सीमित विषय नभई दैनिकीसँग जोडिएकाले प्रकृतिमैत्री विकासका अभ्यासलाई संस्थागत रूपमा अघि बढाउनुपर्ने आवश्यकता अनुरुप कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभयो । यसैगरी विश्वविद्यालयका विभिन्न निकायहरुले पनि विश्व वातावरण दिवसका अवसरमा सरसफाइ कार्यक्रमको आयोजना गरेको छ ।