नवनियुक्त रजिष्ट्रारज्यूको स्वागत तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न
मिति २०८३ साल जेठ ८ गते मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त रजिष्ट्रार सह-प्रा. डा. अर्जुन बहादुर अयडीज्यूको स्वागत तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ।
वर्तमान परिवेशमा मध्यपश्चिम विश्वविद्यालयमा रिक्त रहेको रजिष्ट्रार पदमा नयाँ नियुक्ति नभएसम्मका लागि सम्माननीय प्रधानमन्त्री एवं कुलपतिज्यूले सह-प्रा. डा. अर्जुन बहादुर अयडीज्यूलाई रजिष्ट्रारको जिम्मेवारी प्रदान गर्नुभएको हो।
कार्यक्रममा नवनियुक्त रजिष्ट्रार सह-प्रा. डा. अर्जुन बहादुर अयडीज्यूले आफूलाई रजिष्ट्रारको जिम्मेवारी प्रदान गरिएकोमा सम्माननीय प्रधानमन्त्री एवं कुलपतिज्यूप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले विश्वविद्यालयका सम्पूर्ण पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा सरोकारवालाहरूलाई आत्मप्रेरणाका साथ आ–आफ्नो जिम्मेवारी निर्वाह गर्दै विश्वविद्यालयको प्रगति र विकासका लागि सक्रिय रूपमा अघि बढ्न अनुरोध गर्नुभयो।
कार्यक्रमका अध्यक्ष तथा उपकुलपति प्रा. डा. नारायण प्रसाद पौडेलज्यूले नवनियुक्त रजिष्ट्रारज्यूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँले हालै शिक्षा मन्त्रालयसँग सम्पन्न बैठकको समग्र जानकारी प्रस्तुत गर्दै विश्वविद्यालयको विकास र गुणस्तर अभिवृद्धिका लागि सबै पक्षको ध्यान केन्द्रित हुन आवश्यक रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा स्वागत मन्तव्य योजना, विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक उप-प्रा. डा. विष्णु कुमार खड्काज्यूले व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन प्रशासन अधिकृत शैलेन्द्र पाठकले गर्नुभएको थियो।
स्वागत तथा पदभार ग्रहण कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।